अन्तराष्टिय समन्वय परिषद् (एनआरएनए) आईसीसी निर्वाचन (२०२१-०२१) का लागि सचिव पदमा शंकर खड्काले उमेद्वारी दिने भएका छन् । बर्तमान आईसीसी सदस्य रहेका खड्काले आफ्ना केही महत्वपूर्ण प्रतिवद्धता सहित आईसीसी नयाँ कार्यसमिती निर्वाचनमा सचिव पदका लागि उमेद्वारी दिने भएका हुन् ।

आफ्नो उमेद्वारीको निर्णय सार्वजनिक गर्दै खड्काले आफ्नो व्यक्तीगत, राजनितिक, पेसागत र सामाजिक कर्मबारे पनि स्मरण गरेका छन् । स–परिवार अमेरिकाको क्यालिफोर्निया राज्यमा बसोवास गर्दै आईरहेका खड्का रामेछाप जिल्लामा जन्मिएका थिए ।

राजनितीक चेत भएको परिवारमा जन्मिएका खड्का सानैबाट गलत काम र कुराका बिरोध गर्ने स्वभावका थिए । कलेज जीवन सुरु गरेपछि अझ बढी समाज र देशका लागि आफुले सकेको योगदान गर्नुपर्छ भन्ने संकल्प गरेर अघि बढेका उनि एनआरएनए अभियानका सक्रिय र पुराना अभियन्ता हुन् ।

गैर आवासीय नेपाली संघ,अमेरिकाको सचिव,आइसीसीको विभिन्न कमिटी र हाल आइसीसी सदस्यको रुपमा कार्यरत खड्का एनआरएन केही व्यक्ति विशेषको मात्र होइन र हुनु हुँदैन, यसको सिन्डिकेट शैली तोड्न सक्नुपर्छ र त्यो सबै नेपालीको साथ, सहयोग र समर्थनले मात्र सम्भव भएकोप्रति स्पष्टता व्यक्त गर्दै खड्काले संस्थालाई पारदर्शी रुपमा सबैले अपनत्व महसुस गर्न सक्ने बनाउनका लागि खबरदारी र आफ्नो उमेद्वारी तथा अभियानलाई थप गतिशील बनाउन रचनात्मक सुझाव र सल्लाहको समेत अपेक्षा गरेको खड्काले बताएका छन् ।

खड्काले जारी गरेको सार्बजनिक अपील यस प्रकार छ –

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरुमा नमस्कार।

एनआरएन आइसीसीको आगामी १० औं विश्व सम्मेलन र नयाँ नेतृत्व चयन प्रकृयाका बारे हामी जानकार नै छौं। जन्मभूमि देखी बाहिर रहनु भएका आम नेपालीहरुको हक,हित र अधिकार मात्र नभै “मात्रिभूमिमा हाम्रो सेवा “ अभियानमा एनआरएन अनबरत रुपमा लागेको छ।सबै नेपालीहरुका प्रती समर्पित एकमात्र विशुद्ध सामाजिक संस्था एनआरएन सबैले अपनत्व महसुस गर्न सक्ने किसिमको हुनुपर्छ भन्ने मेरो द्रिड बिश्वास छ ।

संविधान प्रदत्त हक,अधिकारको पूर्ण उपयोग गर्न र हाम्रो नयाँ पुस्तालाई नेपालसंग जोड्नको लागि हामीले ‘पूल’ बनेर काम गर्नुपर्ने ज़िम्मेबारी हाम्रो काँधमा छ। बिभिन्न परिबेष र परिस्थितिमा मुलुकबाट पलाएन भएको यो ठुलो जनशक्तिलाई कर्म र भावनाले जोड्नु आफैमा ठुलो चुनौती हो तथापी हामी दत्त चित्त भएर लागी परेको छौं र लागी रहनेछौं।

यी सबै दायित्व र जिम्मेवारी पुरा गर्नका लागि नेतृत्वको भूमिका अहम हुन्छ। सही नेतृत्वले मात्र गैर आवासीय नेपालीहरुको हक,अधिकारको सुरक्षा र साझा समस्या समाधान गर्न सक्छ। त्यसैले यो घडी सही नेतृत्व चयनका लागि एकदम नै महत्वपूर्ण क्षण हो भन्ने मलाई लाग्दछ।
समस्त गैर आवासीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरु,

रामेछाप जिल्लामा जन्मिएको म आज स-परिवार अमेरिकाको क्यालिफोर्निया राज्यमा बसोवास गर्दै आइरहेको छु। राजनीतिक चेतनाको पूञ्ज मेरो पारिवारिक पृष्ठभूमी हो। जसले गर्दा सानैदेखि मैले गलतलाई गलत नै भन्नुपर्छ।अन्याय र विभेदका विरुद्ध बोल्नुपर्छ भन्ने चेतना प्राप्त गरें। स्कूले जीवन सकेर राजधानी छिर्दै गर्दा मैले आफूबाहेक यो समाज र राष्ट्रको लागि पनि आफुले सकेको योगदान गर्नुपर्छ भन्ने संकल्प गरेर विभिन्न जिम्मेवारी र भूमिकामा रही योगदान गरेको छु।

सामाजिक सेवाप्रतिको त्यही संकल्प अनुसार मैले अमेरिका आएर पनि निरन्तर रुपमा सकेको योगदान इमान्दारीपूर्वक गर्दै आएको छु। यस क्रममा गैर आवासीय नेपाली संघ,अमेरिकाको सचिव,आइसीसीको विभिन्न कमिटी र हाल आइसीसी सदस्यको रुपमा म यो अभियानमा आवद्ध छु। मलाई यो अभियानमा साथ दिनु हुने र सहयोग गर्नु हुने सबैप्रति अनुग्रहित छु।

म जहाँ,जुन भूमिकामा रहे पनि निरन्तर रुपमा गलत प्रवृत्तिको विरोध र खबरदारी गर्दै आएको छु र गरिरहने छु। अन्तमा पुन : निबेदन गर्दै जोड दिन चाहन्छु की एनआरएन केही व्यक्ति विशेषको मात्र होइन र हुनु हुँदैन। यसको सिन्डिकेट शैली तोड्न सक्नुपर्छ। त्यसका लागि यहाँहरुको साथ,सहयोग र समर्थनको अपेक्षा गर्दै मैले राम्रो र साझा एनआरएनका लागि मेरो प्रतिवद्धता सहित यसपटक एनआरएन आइसीसीको सचिव पदमा उम्मेद्वारी घोषणा गरेको छु।

म सधैं हजुरहरुको साथमा रहनेछु र संस्थालाई पारदर्शी रुपमा सबैले अपनत्व महसुस गर्न सक्ने बनाउनका लागि खबरदारी गरिरहनेछु। संस्थागत पारदर्शिता भएन भने संस्थामा सबैले अपनत्व महसुस गर्न सकिन्न। त्यसैले म संस्थागत पारदर्शितामा जोड दिंदै मेरो उम्मेद्वारीको समर्थनसहित सहयोग गरिदिनु हुन र मतदान गरी पुन: एक कदम अगाडी बढेर सेवा गर्ने अवसर दिनु हुन म विश्वभर छरिएर रहनु भएका सबै गैर आवासीय नेपाली संघका आइसीसी प्रतिनिधि,दाजुभाई तथा दिदीबहिनीहरु समक्ष विनम्र अनुरोध गर्दछु।

यो अभियानलाई थप गतिशील बनाउन हजुरहरुको रचनात्मक सुझाव र सल्लाहको समेत अपेक्षा गर्दछु।

बिनित
शंकर खड्का
सचिव पदको उम्मेदवार (२०२१-२०२३)
एनआरएनए आइसीसी
हाल: आइ सी सी सदस्य, गैर आवासीय नेपाली संघ