काठमाडौं । अवैध रूपमा हुन्डी र सट्टेबाजी धन्दा चलाइरहेको वान् एक्स बेट कम्पनीले नेपाली सेलेब्रिटी तथा प्रसिद्ध कन्टेन्ट क्रिएटरहरूलाई झुक्याएर यसको प्रोमोसन गर्न लगाइरहेको पाइएको छ ।

पछिल्लो समय युट्युबमा सक्रिय युवा लक्षित च्यानलहरूलाई विज्ञापनको माध्यम बनाइरहेको यो कम्पनी बिस्तारै ठूला कलाकारलाई पनि यसमा खिचिरहेको छ ।

सुरुआती समयमा जलान, मिङसेराप जस्ता युट्युबर र टिकटकरहरूबाट विज्ञापन गरिरहेको यो कम्पनीले अहिले मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)लाई पनि माध्यम बनाएको छ ।

आइतबार राति मात्रै मरिचमानको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको ‘हल्का रमाइलो’ हास्य टेलिश्रृंखलाको ६१औं भागमा यसको २० सेकेन्ड लामो विज्ञापन राखिएको छ । १० लाखभन्दा धेरै सब्सक्राइबर भएको त्यो च्यानलबाट अपलोड भएको यो विज्ञापनसहितको भिडियो ४ लाखभन्दा धेरै पटक हेरिसकिएको छ ।

तर, के मरिचमानलाई यो विज्ञापनको वैधानिकताबारे थाहा छ ? अहँ, छैन । ‘मलाई त यो अवैध कार्यको विज्ञापन भन्ने थाहै थिएन,’ मरिचमानले नेपाल प्रेससँग भने, ‘एउटा भाईले विज्ञापन छ दाई राम्रो पैसा दिन्छ भनेर ल्याएको थियो, मैले हालिदिएँ ।’