निर्वाचनको पूर्वसन्ध्यामा तपाईंले उम्मेदवारको हैसियतले हामीलाई मतदाताका रूपमा पत्र पठाउनुभएको थियो । आज म नागरिकका हैसियतले सम्माननीय प्रधानमन्त्रीज्यू तपाईंलाई पत्र पठाउँदैछु ।

मेरो देशका प्रधानमन्त्रीज्यूले घरघरमा खाना ल्याइपुर्याउँछन् । अब विदेशी भूमिमा सस्तो मूल्यमा परिश्रम बेचेर स्वाभिमान बेच्नुपर्दैन । दुईतिहाइको सरकार बनेपछि महिनैपिच्छे सरकार गिराउने र बनाउने खेलको अन्त्य हुन्छ भनेर म ढुक्क थिएँ ।

तर, सोचेजस्तो नहुँदोरहेछ । हँसिया–हथौडावाहक सिम्रिक झण्डा र सूर्य मतदान चिन्हको प्रचारमा हातमा डिजे समातेर ‘सही पनि एमाले, मै पनि एमाले’ भनेर मेरो गाउँको ५९ वर्षीय हर्कबहादुर निकै फुर्तिका साथ जुटेको थियो । सम्माननीय प्रधानमन्त्रीज्यू उता शहरतिर तपाईंको पनि उखान टुक्का मिश्रित भाषणले रौनक छाएको थियो । प्रचार र भाषणबाजीमा कुनै अपुग थिएन । भोजभतेरमा कमि थिएन । जनता जुर्मुराएका थिए । यसैको फलस्वरुप दुईतिहाइसहितको सरकार बन्यो । धेरैले गर्व गरे होलान् ।

तर, ती गर्व गरेका दिन वितेको धेरै भएको छैन । अहिले एकाएक पुरानो रोगको पुनरावृत्ति भएको छ । सरकार बन्ने र ढल्नेको कुनै ठेगान हुँदैनथ्यो । प्रधानमन्त्रीज्यूको मीठो भाषणबाट प्रभावित नेपाली जनताले आफ्नो अभिमत जाहेर गर्दै दुईतिहाइ दिलाए । दुईतिहाइ बहुमतको सरकार बनेयता समय–समयमा विभिन्न काण्डहरूमा– भ्रष्टाचार, अन्याय, अत्याचार, विभेद मात्र नभई किस्ताबन्दीमा संविधानको हत्या समेत गरियो । हुँदाहुँदै अन्तिममा संसद नै विघटन गरेर नेपाली राजनीतिलाई अस्थिर बनाइयो ।

संविधानको अपमान गर्दै सत्तास्वार्थको खेलमा नेपाली जनताको मतको हुर्मत उडाएर आफूलाई सर्वशक्तिमान बनाउने महत्वाकांक्षाले तपाईंले नयाँ नाटक मञ्चन गरेर सात दशक लामो संघर्षपछि बनेको संविधानलाई विघटन गरेर ‘कु’ गर्नुभयो । योभन्दा ठूलो अपराध के हुनसक्छ ?

प्रधानमन्त्रीज्यू,

तपाईं गुटको रक्षक र फरक मत राख्नेका लागि यति निर्मम हुनुहुँदोरहेछ, तपाईं कसरी यो संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्री निर्वाचित हुनुभो ? तपाईंकै शब्द सापटी लिएँ । तपाईंको यो हर्कतले मलाई पनि ताज्जुब लागेर आयो । तपाईंले पार्टीभित्रको आन्तरिक संगठनात्मक प्राविधिक व्यवस्थापन गर्न नसकेर पाँचवर्षे स्थायी सरकारको सबै सपना भुलेर नयाँ नाटक मञ्चन गर्दा कत्ति पनि लाज लागेन र ? तपाईंले त संविधानको रक्षक राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि आफ्नै रबरस्ट्याम्प बनाएर ‘श्री ६’ बन्न प्रेरित गर्नुभो । योभन्दा ठूलो अपराध के हुनसक्ला र ?